कोरोना संक्रमण बढेपछि बारा–पर्सा करिडोरका उद्योग प्रभावित, ५० प्रतिशतसम्म घट्यो उत्पादन
पर्सा, ३१ साउन । पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दै गएपछि बारा–पर्सा औद्योगिक करिडोरका उद्योग प्रतिष्ठान प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । संक्रमण बढ्दै गएपछि अहिले बारा र पर्सा जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । तराईका जिल्लामा गरिएको निधेषाज्ञाको असर उद्योगमा परेको छ । बढ्दो संक्रमण र निषेधाज्ञाका कारण यस क्षेत्रका उद्योगको उत्पादनमा समेत ह्रास आएको छ ।
लकडाउन खुकुलो भएर पूर्णरूपमा हटेपछि कुल क्षमताको ७५ प्रतिशतसम्म उत्पादन गर्न थालेका करिडोरका उद्योगको क्षमता घटेर अहिले २५ प्रतिशतमा झरेको सम्बद्ध उद्योग व्यवसायीले बताएका छन् । संक्रमणको जोखिम र त्रासका कारण अधिकांशले उद्योगले सीमित श्रमिक तथा कर्मचारी राखेर काम चलाएका छन् । यस्तै संक्रमणको डर र निषेधाज्ञाले गर्दा आवागमन, ढुवानी र बजार बन्द हुँदा उत्पादन भए पनि विक्री हुने अवस्था नरहेको गुनसो उद्योगीहरूले गरेका छन् ।
केही उद्योगमा गम्भीर लक्षण सहितका संक्रमित देखिन थालेपछि उद्योग सञ्चालनको वातावरण पुनः खल्बलिएको नेपाल चामल तेल दाल संघले बताएको छ । हालसम्म करिडोर क्षेत्रका औषधि उद्योगमा बढी संक्रमित भेटिएका छन् । तीनओटा औषधि र फलाम उद्योगमा कोभिड–१९ संक्रमित भेटिएका हुन् । सरकारले उद्योग चलाउने वातावरण बनाउनुपर्ने भन्दै उद्योगी व्यवसायीले उद्योगमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारीको पीसीआर परीक्षण आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ ।