प्रविधिमा जोडिँदै लगानीकर्ताः शेयर कारोबार गर्न निषेधाज्ञाले प्रभाव पारेन, १ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं, ७ भदौ । गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउनको समयमा शेयर कारोबार बन्द हुँदा कतिपय लगानीकर्ताले सहमति जनाएपनि अधिकांशले असन्तुष्टि जनाएका थिए । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि शेयर कारोरबार गर्न ब्रोकरकोमा जान नपर्ने भन्दै लकडाउनकै बिचमा लगानीकर्तालाई अनलाईनबाट कारोबार गर्न २ दिन शेयर कारोबार खुल्ला गरेको थियो । दुबै दिन बजारमा नकारात्मक सर्किट लागेको र ब्रोकर र लगानीकर्ताहरुको चर्काे विरोधपछि सूचना जारी गर्दै शेयर कारोबार बन्द गरिएको थियो ।
तर, पछिल्लो पटक भदौ ३ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुँदा पनि शेयर कारोबारमा खासै प्रभाव परेको छैन् । कोरोना महामारीले गर्दा लगानीकर्ताहरु पनि प्रविधिमा जोड दिन थालेका छन् । यो समयमा उनीहरुले शेयर बजार खुल्ला राखेकोमा कुनै विरोध गरेका छैनन् । बरु अनलाइनबाट शेयर कारोबार गर्न ब्रोकरहरुले नै लगानीकर्तालाई प्रोत्साहन गरिरहेका छन् । निषेधाज्ञाको समयमा पनि शेयर खरिद विक्रीम कुनै कमी आएको छैन् । निषेधाज्ञा जारी भएको दिन कारोरबार रकममा कमी आएको भएपनि आइतबार (आज) पहिले जस्तै १ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ ।
१८४ कम्पनीको १६ पटकको कारोबारमा २४ लाख ९८ हजार ६६२ कित्ता शेयर १ अर्ब १० करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको ३.४६ प्रतिशत भएको छ ।