बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशत बढ्यो, घरजग्गाको धितोमा सबैभन्दा बढी
काठमाडौं, १० भदौ । १ वर्ष अवधिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले गत आर्थिक वर्षमा उक्त कर्जामा उक्त वृद्धि भएको देखाएको हो । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो ।
निजीक्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरूको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा ६ विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।
यसैगरी २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.७ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.८ प्रतिशतले घटेको छ ।