कोरोना भाइरस विरुद्धको खोप नेपालमा परिक्षण गर्ने तयारी
काठमाडौं, ११ भदौ । कोरोना भाइरस विरुद्ध अक्सफोर्ड विश्वविद्यालय, चीन र रुसले विकास गरेका तीनैथरी खोप नेपालमा तेश्रो चरणको चिकित्सकीय परिक्षण (थर्ड फेज क्लीनिकल ट्रायल) का लागि प्रस्ताव आएको छ । सन् २०२० को सुरुवातदेखि विश्वलाई नै प्यारालाइज्ड बनाएको कोरोना भाइरस विरुद्धको खोप बनाउन सबैजसो देशहरु प्रतिस्पर्धामा छन् । अक्सफोर्डले च्यारिटी फण्ड प्राप्त गरी खोप बनाएको हो भने चीन, अमेरिका, रुसले आफ्नै खर्चमा खोप विकास गरेका हुन् । चीनले कोभिड–१९ का जटिल बिरामीहरुलाई जुलाई महिनादेखि नै त्यहाँ विकास गरिएको खोप दिदैं आएको बुझिएको छ । त्यस्तै रुसले विकास गरेको खोप राष्ट्रपति भ्लादिमिर पुटीनकी छोरीलाई लगाएपछि यसको विश्वसनीयता बढेको छ । धेरै देशहरुले माग गर्न थालेपछि रुसले खोपको व्यापक उत्पादन शुरु गरिसकेको छ । त्यस्तै, अमेरिकाले विकास गरेको खोपलाई त्यहाँको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले स्वीकृति दिइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भ्याक्सिन उत्पादन र वितरणलाई फास्ट ट्रयाक गर्न चाहेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनले भने कुनै पनि खोपलाई अहिलेसम्म मान्यता दिएको छैन ।
चीनले नेपालमा चिनियाँ लगानीमा स्थापित होङ्सी सिमेन्ट कम्पनीमा कार्यरत कामदार र अन्य समेत गरी एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ ।
नेपालमा परराष्ट्र मन्त्रालयमार्फत् अक्सफोर्ड विश्वविद्यालय, चीन र रुसमा उत्पादिन भ्याक्सिनको थर्ड फेज क्लिनिकल ट्रायलको प्रस्ताव आएपछि अहिले उक्त प्रस्तावको मूल्यांकनकालागि स्वास्थ्य मन्त्रालयमार्फत् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पठाइएको छ । चीनले नेपालमा चिनियाँ लगानीमा स्थापित होङ्सी सिमेन्ट कम्पनीमा कार्यरत कामदार र अन्य समेत गरी एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ ।
त्यसैगरी, नेपालस्थित रुसी राजदूतले पनि यससम्बन्धमा छलफल अघि बढाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार, क्लीनिकल ट्रायलमा सहभागी हुनका लागि नेपाल खुला छ । तर यसका केही प्रक्रियागत पक्षहरु, खोप लगाउनेको बीमा लगायतका व्यवस्थामा काम गर्नुपर्ने हुन्छ ।
यसअघि नै कतिपय मुलुकले आफ्नो मुलुकका लागि खोप सुनिश्चित गरिसकेका छन् । रुसमा बनेको भ्याक्सिन मेक्सिको लगायत २० देशले माग गरेका छन् । अष्ट्रेलियाले अक्सफोर्डमा बनेको भ्याक्सिन आफ्ना सबै नागरिकलाई निशुल्क दिने भएको छ । भारतले बंगलादेश र भुटानलाई निःशुल्क खोप वितरण गर्ने भैसकेको छ । नेपालले भने अक्सफोर्ड सहित, चीन र रुसको क्लीनिकल ट्रायलमा सहभागी हुन खुला रहेको जनाएको छ । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले प्रस्तावित खोपहरुको अध्ययन अनुसन्धान शुरु भैसकेको र केही प्रक्रियागत पक्षहरु पूरा भएपछि उनीहरुलाई पत्राचार गर्ने बताए ।