‘विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने’

काठमाडौं, २१ भदौ । सरकारले देशबाहिर रहेका मतदान गर्न योग्य नेपाली नागरिकले विदेशबाटै नेपालमा मतदान गर्न पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ । गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियामा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आगामी चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएको राससमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने उद्घोष गरेका छन् ।
उक्त अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताए । गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड उनले दिँदै गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्नेमा जोड दिए ।
राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैंको नेपाली हुने भएकाले सधैं नेपाली हुनका लागि गैरआवासीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । यस्तै पूर्वमन्त्री अनिलकुमार झाले गैरआवासीय नेपाली भनेर फरक व्यवहार गर्न नहुनेमा जोड दिँदै आवासीय र गैरआवासीय बीचको विभेद हटाउनुपर्ने उल्लेख गरेका छन् ।