वीरगञ्जमा साउनभित्रै नयाँ खानेपानी आयोजनाको टेन्डर आह्वान हुने : मन्त्री प्रदीप यादव

काठमाडाैं, २६ जेष्ठ । खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाभित्र साउन महिनाभित्रै नयाँ खानेपानी आयोजना सञ्चालनका लागि टेन्डर आह्वान गरिने बताएका छन्।
सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा वीरगञ्जको खानेपानी तथा ढल व्यवस्थापन समस्याबारे आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालन हुने आयोजनाबारे विस्तृत जानकारी दिँदै यस्तो घोषणा गरेका हुन्।
उनले भने, “ADB को सहयोगमा सञ्चालन हुने १२ वटा आयोजनामध्ये पहिलो चरणमा कम्तीमा ६ वटा आयोजनाको तत्काल सुरुवात गर्ने गरी प्रक्रिया अघि बढाउनेछौं। यसका लागि सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्यलाई मजबुत बनाइनेछ।”
मन्त्री यादवका अनुसार वीरगञ्जका नागरिकलाई स्वच्छ पानी र उचित ढल व्यवस्थापन प्रदान गर्न मन्त्रालय, महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरूबीच साझा प्रयास भइरहेको छ। यसले वीरगञ्जवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास छ।
छलफलमा सहभागी सरोकारवाला निकायहरूबीच आगामी साउन महिनाभित्रै आयोजना निर्माणको लागि ADB सँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर प्रक्रिया अघि बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ।
सो छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई. मीना श्रेष्ठ, ई. रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाललगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।