Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–गुजरा खण्डमा ५० प्रतिशत काम सम्पन्न

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–गुजरा खण्डमा ५० प्रतिशत काम सम्पन्न

सर्लाही, २१ भदौ । कोरोना महामारी र निषेधाज्ञाका बीच पनि पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कामलाई निरन्तरता दिइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त आयोजना अन्तर्गत बर्दिवास (महोत्तरी)–गुजरा (रौतहट) खण्डको कामले गति लिएको छ । उक्त खण्डको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिएका छन् ।
राससका अनुसार बर्दिवास–गुजरा रेलमार्गलाई १७ वटा खण्डमा विभाजन गरेर १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । इञ्जिनीयर साहका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्न करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ । रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले बताएका छन् । सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेकाले समाधानमा धेरै समय लागेको उनको भनाइ छ । बर्दिबासमा मुआब्जाको र जंगलको रुख कटानको विवादले गर्दा काम शुरू हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताएका छन् ।
रेलमार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीको भनाइ छ । सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अन्य काम निरन्तर भइरहेको कम्पनीले बताएको छ । मुआब्जा विवादका कारण संघर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरू हुन सकेको छैन । सर्लाहीमा २० र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x