अब सीमित गतिविधिमा मात्र निषेधाज्ञा, यातायातमा जोर–बिजोर कायमै

काठमाडौं, १ असोज । जिल्ला प्रशासनले आजदेखि आर्थिक गतिविधि खुला गरेपनि काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा सुरक्षा मापदण्ड लागू गर्न साथै जोर–बिजोर कायमै राख्नुपर्ने व्यवस्था गरेको छ । तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत तथा सबै प्रकारका ढुवानी साधनमा जोर तथा बिजोर प्रणाली लागू हुनेछैन ।
त्यस्तै मानिसहरुलाई खुला ठाउँमा भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोजभतेर गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, मठमन्दिर, मस्जिद, चर्च, गुम्बा जस्ता धार्मिक तथा सांस्कृतिक स्थलमा भीडभाड गर्न प्रतिबन्ध गरिएको छ । विद्यमान अवस्थामा शैक्षिक संस्थाहरु बन्द नै रहनेछन् । त्यस्तै सबै प्रकारका सभा, सेमिनार, गोष्ठी, पार्टीप्यालेस, सिनेमा हल, मनोरञ्जन, सैलुन, स्वीमिङ पुल, ब्युटीपार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल बन्द नै राखिएको छ ।
यसका अतिरिक्त प्रशासनले सबैलाई मास्क, स्यानिटाइजर लगायत स्वच्छता र स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । यससम्बन्धमा सबै पेशा, व्यवसायका विभिन्न छाता संस्थाहरु साथै प्रशासनले अनुगमन गर्ने र नियम पालना नगर्नेलाई संक्रामक रोग, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *