Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

उद्यमशीलता विकासमा वित्तीय क्षेत्र

उद्यमशीलता विकासमा वित्तीय क्षेत्र

समता पन्त
निमित्त नायव प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लि.

उद्यमशीलता विकासमा बैंक तथा वित्तीय क्षेत्रको भूमिका अपरिहार्य हुन्छ । कुनै पनि उद्यम व्यवसाय सञ्चालन र विस्तारका लागि पूँजीको आवश्यकता पर्ने हुँदा यसमा वित्तीय क्षेत्रको भूमिका महत्वपूर्ण हुन गएको हो । त्यसमा पनि महिलालाई आर्थिक रूपमा सबल बनाउन उनीहरूले सञ्चालन गर्ने वा गरेका उद्यम व्यवसायलाई वित्तीय क्षेत्रको साथको अझ बढी खाँचो पर्छ ।

नीतिगत रूपमा महिला उद्यमशीलता विकासका लागि जे जस्तो व्यवस्था भए पनि त्यसको कार्यान्वयन मुख्य शर्त हो । अझै पनि महिलाहरू वित्तीय सबलतामा पछि नै छन् । उनीहरूमा वित्तीय पहुँच, कुल बचत खाता संख्या र वित्तीय क्षेत्रबाट कर्जा प्राप्तिको अवस्थालाई राम्रो मान्न सकिँदैन । विशेषगरी ग्रामीण भेगका महिलाको स्थिति थप कमजोर छ । कुल सक्रिय बैंक खातामा महिला खाताको प्रतिशत करीब ३० मात्र रहेको छ । त्यस्तै कर्जातर्फ हेर्दा त झन् कुल कर्जा प्रवाहमा महिलाको हिस्सा २० प्रतिशतभन्दा बढी छैन । यसमा पनि निक्षेप तथा कर्जा दुवैतर्फ उल्लेख्य हिस्सा शहरी क्षेत्रका महिलाको रहेको छ । देशको ठूलो हिस्सा ओगटेको ग्रामीण भेगमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंकहरूको प्रयासबाट बैंक तथा वित्तीय संस्थाको शाखा संख्या त विस्तार भयो । तर विभिन्न सामाजिक तथा सांस्कृतिक अवरोधका कारण महिलाको वित्तीय पहँुच त्यति प्रभावकारी हुन सकेन ।

उद्यमशीलता, व्यावसायिक स्वामित्व र स्वरोजगारी सृजनाले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँछ । यसले समाजमा उनीहरूको आर्थिक स्तर र सामाजिक स्थान पनि बढाउँछ । देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्यमशीलताको विकासमा वित्तीय क्षेत्रले पनि हातेमालो गर्दै आइरहेको छ । महिलाको हकमा वित्तीय क्षेत्रले सहुलियतपूर्ण कर्जा अन्तर्गत महिलालाई एकल वा सामूहिक रूपमा उद्यमशील बन्न १५ लाख रुपैयाँसम्मको ब्याज अनुदान सहितको महिला उद्यमशील कर्जा विनाधितो प्रवाह गर्छन् भने धितोसहितको कर्जाको हकमा व्यापार व्यवसायको सम्भाव्यताको आधारमा कर्जा रकम तय गरिन्छ । महिलाको सामाजिक आर्थिक स्तर उकास्न, आर्थिक रूपमा स्वतन्त्र र सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उद्यमशीलता विकासका लागि वित्तीय क्षेत्रले आवश्यक पूँजी ऋणको रूपमा प्रवाह गर्ने गरेको छ । यसले वित्तीय समावेशीकरण बढाउन पनि मद्दत पुगेको छ ।

वित्तीय संस्थाबाट महिला उद्यमीले कर्जा सुविधा पाउन कठिनाइ हुने गरेको कुरा पनि बेला बेला आउने गर्छ । तर वित्तीय संस्थाहरूको मुख्य काम नै कर्जा प्रवाह भएकोले वास्तविक उद्यमीका लागि कर्जा लगायतका सुविधा प्राप्त गर्न असहज छ जस्तो लाग्दैन । तर कतिपय अवस्थामा महिलामा वित्तीय चेतनाको कमी, व्यावसायिक अनुभव र विज्ञताको कमी, कमजोर उद्यमशीलताले गर्दा बैंकहरूले वास्तविक उद्यमी पहिचान गर्न कठिन हुँदा साथै बैंकहरूले कर्जाको सदुपयोगको यकिन गर्न ग्राहक छनौटमा प्रक्रियागत कार्यले गर्दा केही असहज महसुुस भएको हुन सक्छ । पछिल्लो समयमा त बैंक तथा वित्तीय संस्थाहरूले महिला उद्यमशीलताको क्षेत्रमा प्रवाह हुने कर्जालाई विशेष प्राथमिकता दिने गरेका छन् ।

महिला उद्यमशीलता विकासमा वित्तीय क्षेत्रले गरेको लगानीको अवस्था हेर्दा एकदम राम्रो मान्न नसकिए पनि बढ्दो क्रममा रहेकोले यसलाई सन्तोषजनक र सकारात्मक मान्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट प्रकाशित तथ्यांक हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ । वित्तीय क्षेत्रले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जाका विभिन्न सात क्षेत्रमा २०७६ असार मसान्तमा कुल १८ हजार २९५ जनालाई ३२ अर्ब ८२ करोड रुपैयाँ रकम प्रवाह भएकोमा महिला उद्यमशील कर्जा जम्मा ७९६ ऋणीलाई ५१ करोड २२ लाख रुपैयाँ मात्र रहेको थियो । तर २०७७ वैशाख मसान्तसम्म आइपुग्दा यी सात क्षेत्रमा प्रवाहित कर्जा प्राप्त गर्नेको संख्या बढेर २८ हजार ६८७ र रकम ५४ अर्ब ४८ करोड रुपैयाँ पुग्दा ४ हजार ५९४ महिला उद्यमीले ३ अर्ब १० करोड रुपैयाँ कर्जा प्राप्त गरेका छन् ।

त्यस्तै कृषिकर्जा अन्तर्गत प्रवाहित कर्जामा पनि महिलाको नाममा दर्ता भएका व्यवसायको संख्या उल्लेख्य छ । यसबाट एकातिर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ भने बैंकहरूलाई पनि ब्याज आम्दानी प्राप्त भइरहेको छ । महिला उद्यमशीलता विकास अझै विस्तार र प्रवद्र्धनका लागि वित्तीय क्षेत्रसँगै अन्य निकायको पनि सक्रिय भूमिका हुनुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारबाट महिलाको उद्यमशील क्षमता विकासका लागि व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ । त्यस्तै वित्तीय क्षेत्रको कर्जा दुरुपयोग गर्नेलाई राज्य स्तरबाटै दण्ड र जरिवानाको व्यवस्था गर्नुपर्छ । यसो भएमा वित्तीय क्षेत्र पनि महिला उद्यमशीलताको क्षेत्रमा प्रवाह हुने कर्जा रकमको सदुपयोग हुने कुरामा ढुक्क हुन सक्छ र उद्यमी महिलाहरू लगानी बढाउन प्रोत्साहित हुन्छन् ।

वित्तीय क्षेत्रले पनि बैंकिङ क्षमता विकास गर्न वित्तीय साक्षरता कार्यक्रम मार्फत महिला दिदीबहिनीहरूमा उद्यमशीलता प्रवद्र्घन गर्ने, बैंकमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने, बैंकिङ ‘प्रडक्ट’हरूबारे जानकारी दिने जस्ता काम गर्नुपर्छ । यसरी प्रवाह गरिने कर्जा न्यून ब्याजदरमा दिने र कर्जा स्वीकृति प्रक्रियालाई सरल बनाउनु पर्छ । यस्तै राज्यले पनि महत्व दिएर ल्याएको सहुलियतपूर्ण कर्जाका लागि छुट्टै विभाग वा डेस्कको व्यवस्था गर्नुपर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x