Shangrila

उच्च विदेशी मुद्रा सञ्चितिको कसरी लाभ लिने ?

काठमाडौं, १२ असोज । नेपालसँग अहिले अभूतपूर्व विदेशी मुद्राको सञ्चिति उच्च छ । १२ अर्ब २ करोड अमेरिकी डलर अर्थात् १४ खर्ब ३६ अर्ब रुपैँयाको यो सञ्चितिले अहिलेको प्रवृत्तिमा १७ महिनाको वस्तु अयाात र १६ महिनाको वस्तु र सेवाको आयात धान्न पुग्छ ।
आयातमा निरन्तरको गिरावट र रेमिट्यान्सको उच्च वृद्धिका कारण नेपालसँग अहिले ऐतिहासिक रुपमै उच्च विदेशी मुद्रा सञ्चिति छ । साउन महिनामा रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेर ९३ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको छ । असार महिनामा एकै महिनामा अहिलेसम्मकै उच्च अर्थात् १०० अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको थियो ।
नेपालले आफूसँग रहेको विदेशी मुद्रा सञ्चितिलाई अर्थतन्त्रमा दीर्घकालीन लाभ र प्रभाव सिर्जना गर्न उपयोग गर्नुपर्ने अर्थशास्त्रीहरुले सुझाव दिएका छन् । ‘यो सञ्चितिलाई उपभोग्य वस्तु आयात गरेर गुमाउनेभन्दा पनि ठूला विकास परियोजना कार्यान्वयनमा लगाउनुपर्छ,’ अर्थशास्त्री डा. विश्व पौडेलले भने, ‘पूर्वाधारमा लगानीले उत्पादन र रोजगारी वृद्धिमा सहयोग गर्छ ।’
कोभिड १९ का कारण उत्पादन र रोजगारी संकटमा परेको अवस्थामा ठूलो परियोजना कार्यान्वयन गर्दा परियोजना कार्यान्वयनका क्रममा पनि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ । निर्माण सामग्री आपूर्तिकर्तालाई हुने लाभ छँदैछ ।
विदेशी मुद्राको विद्यमान तहको सञ्चितिले नेपाललाई अभूतपूर्व अवसर दिएको भएपनि यसलाई उचित व्यवस्थापन गर्न नजान्ने हो भने मुलुकले आफ्नो हातमा आएको अवसर गुमाउने पौडेलले बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल मुलुकको प्रतिस्पर्धी लाभको क्षेत्र र विश्व बजारको समेत माग हेरेर वस्तु या सेवा उत्पादन गरी निर्यात गर्न सके यो विदेशी मुद्रा सञ्चितिलाई बढाउँदै लैजान सक्ने बताउँछन् । उनले कोभिड–१९ का कारण उपभोगमूलक वस्तु र ड्युरेबल्सहरुको माग कम हुने भएकाले विदेशी मुद्राको अहिलेको सञ्चितिलाई बढोत्तरी गर्ने उपाय खोज्न ढिला गर्न नहुने उनको सुझाव छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *