आफै मिटर रिडिङ गरी अग्रिम महशुल भुक्तानीमा २५ प्रतिशत छूट
काठमाडौं, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम महशुल भुक्तानी गरेमा २५ प्रतिशतसम्म छूट दिने भएको छ । बिहीवार प्राधिकरणले एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको बताएको छ । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए ।
सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छूट लिन आग्रह गरेको हो । प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य भएको बताएको छ ।
नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिनसमेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छूट पाइँदै आएको स्मरण गरेको छ । यस्तै ८औंं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ । निमायनुसार १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्दछ ।
३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।