Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गर्दै बागमती प्रदेश सरकार

उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गर्दै बागमती प्रदेश सरकार

हेटौंडा, १६ असोज । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि उक्त ऋण लगानी गर्ने निर्णय गरेको हो । कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपमा सञ्चालनका लागि कार्यविधि समेत बैठकले पारित गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कार्यविधि अनुसार स्थानीय तहले सिफारिश गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ऋण लगानी गरिने जानकारी दिए । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने अपेक्षा प्रदेश सरकारले गरेको छ ।
बेरोजगार युवालाई रोजगारीमा आबद्ध गरिने, फोहोरमैला व्यवस्थापन, महिला तथा दलित समुदायको उद्यमशीलता प्रवद्र्धन, उत्पादनशील कार्यक्रमका लागि लगानी प्रवद्र्धन, कोरोनाबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री ढुंगेलले बताए । सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहनेछ । यसैगरी ऋण लगानी प्रक्रिया सहजीकरण तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको छ ।
प्रदेशले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वनजन्य वस्तुमा आधारित उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने तयारी गरेको कृषि विकास बैंक हेटौंडा शाखाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x