राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता
काठमाडौं, २१ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार गत वर्ष जस्तै चालु आथिक वर्ष २०७७÷०७८ मा पनि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।
कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि गर्ने बताए ।
हाल बैंकले सात वटै प्रदेशका ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।