Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

‘कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

काठमाडौं, २५ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन् । सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताए ।
विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताए । विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको उनको भनाइ छ ।
पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताइन् । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका कामै हुन नसकेको उल्लेख गर्दै डा शर्माले सरकारले सही कदम चाल्न नसकेको बताइन्।
एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए । नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्ताबेज बनाएर काम भइरहेको जानकारी दिए ।
एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए । नेपालबाहिर ८० लाख नेपाली रहेको उल्लेख गर्दै डा. सापकाटाले विदेशमा रहेका नेपालीको उद्धार एवं अन्य आवश्यक प्रबन्धका लागि एनआरएनएले सहयोग गर्दै आएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x