खाद्य ऐन विपरित गतिविधि बढ्यो, विभागद्वारा २१ उद्योग विरुद्ध मुद्दा
काठमाडौं, २६ असोज । पछिल्लो समय उपभोक्ता बजारमा खाद्य ऐन विपरित व्यापारिक गतिविधि बढेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको खाद्य पदार्थको अनुगमनले यस्तो देखाएको हो । विभागले उपभोक्ताको तत्काल गुनासो सुन्न तयार पारेको समूह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेका छन् ।
यस्तै अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्धमुद्दा चलाइएको विभागका सहप्रवक्ता सन्तोष दाहालको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । सो क्रममा एक पानी उद्योग अनुमतिविना सञ्चालन भएको पाइएकाले बन्द गराइएको, खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको र अन्य २१ उद्योगविरुद्ध मुद्दा चलाइएको विभागले बताएको छ ।
विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन गरिएकोमा खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १५५ गरी ४३३ नमूना संकलन भएको थियो । परीक्षणका क्रममा १४ जटा नमूना प्रतिकुल देखिएकाले कारबाही उल्लेख छ ।
विभागअन्तर्गत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात÷निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड १९ का कारण पिउने पानी, दुध तथा दानाको अनुगमन गरिएको राससमा उल्लेख छ ।
अहिले चाडबाड केन्द्रित अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले बताएको छ । विभागले चाडबाडको बिदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ ।