लक्ष्यभन्दा १९ प्रतिशत कम राजस्व संकलन

काठमाडौं, २८ असोज । भदौ महिनामा सरकारको राजस्व लक्ष्यभन्दा करिब १९ प्रतिशत कम असुली भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत महिना ३० अर्ब ८१ करोड ७१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन निर्धारित लक्ष्यभन्दा १८.९१ प्रतिशतको कमी हो ।
भदौमा अन्तःशुल्कतर्फ पनि लक्ष्य हासिल हुन सकेको छैन । विभागका अनुसार सो अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब ६६ करोडमात्र उठेको छ, जुन लक्ष्यभन्दा ३२.५९ प्रतिशत हुन आउँछ ।
साथै भन्सार महशुल रू. १३ अर्ब ५४ करोड ७२ लाख उठाउने लक्ष्य रहेकोमा ११ अर्ब ५६ करोड ६७९ लाख असुली भएको छ भने मूल्य अभिवृद्धि कर रू. १३ अर्ब ३० करोड ९२ लाख असुली गर्ने लक्ष्य रहेकोमा रू. १० अर्ब ७१ लाख मात्र संकलन भएको विभागको तथ्यांक छ ।