Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१ महिनामा दोब्बरभन्दा बढी नाघे कोरोना संक्रमित, सक्रिय संक्रमित पनि बढे

१ महिनामा दोब्बरभन्दा बढी नाघे कोरोना संक्रमित, सक्रिय संक्रमित पनि बढे

काठमाडौं, १ कात्तिक । विगत एक महिनाको तथ्यांकले नेपालमा कोरोना संक्रमित दोब्बरभन्दा बढी पुगेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा भदौ मसान्त (३१) गते प्रकाशित तथ्यांक र असोज मसान्तमा (शुक्रवार) प्रकाशित समग्र तथ्यांकको तुलनात्मक विश्लेषणले यस्तो देखाएको छ ।
भदौ मसान्तमा नेपालमा कुल संक्रमित ५८ हजार ३२७ जना रहेकोमा एक महिनापछि अर्थात् असोज ३० गतेसम्ममा तीव्र रूपमा बढेर १ लाख २६ हजार १३७ पुगेको छ, जुन ११६ प्रतिशतले बढी हो । यस बीचमा सक्रिय संक्रमितको प्रतिशत समेत बढेको पाइएको छ । भदौ मसान्तमा कुल संक्रमितमध्ये करिब २८ प्रतिशत सक्रिय संक्रमित रहेकोमा असोज मसान्तमा आइपुग्दा सक्रिय संक्रमित कुल संक्रमितको करिब ३० प्रतिशत पुगेका छन् । भदौ मसान्तमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ थियो भने एक महिना अन्तरमा यो बढेर ३७ हजार ३८२ पुगेको छ
यद्यपि अघिल्लो महिनाको मसान्तको तुलनामा असोज मसान्तमा कोरोनाको कारण मृत्यु हुनेको दर भने झिनो अन्तरले घटेको पाइएको छ । भदौ मसान्तमा कुल संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएकोमा असोज मसान्तमा आइपुग्दा यसको अन्तर खुम्चिएर कुल संक्रमितको ०.५७ प्रतिशतमा आएको छ ।
यसैगरी कोरोना संक्रमणको दैनिक तथ्यांक हेर्दा गत भदौ मसान्तमा १ हजार ५३९ जना संक्रमित भएकोमा असोज मसान्त (शुक्रवार) यो संख्या ४ हजार ३९२ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या अघिल्लो मसान्तको दिन ८ रहेकोमा असोज मसान्तमा २१ रहेको छ ।
पछिल्ला दिनहरूमा मुलुकमा कोरोना संक्रमणको ग्राफ डरलाग्दो रूपमा बढ्दै गएको छ । एकै दिन ५ हजारभन्दा बढी संक्रमण समेत पाइएको छ । यस्तै मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो छ । सरकारले स्वास्थ्य सरक्षाका मापदण्ड पालना गर्न निरन्तर आग्रह गरिरहे पनि यसको पूर्ण पालना हुन सकेको छैन । यस्तै विज्ञहरूले संक्रमण न्यूनीकरणका लागि परीक्षणको दर र दायरा व्यापक बनाउनुपर्नेमा जोड दिए सो अनुसार नहुँदा संक्रमण बढ्दै गएको औंल्याइएको छ । तुलनात्मक रूपमा पीसीआर परीक्षण महँगो र नतिजा आउन समेत ढिलाइ भइरहेकाले सरकारले केही दिनअघि मात्रै एन्टिजेनमा आधारित परीक्षण शुरू गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x