आजदेखि ११ गतेसम्म सबै वाणिज्य बैंकका शाखा बन्द
काठमाडौं, ७ कात्तिक । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले आज (शुक्रवार)देखि ११ गतेसम्म आफ्ना शाखाहरू बन्द गर्दै छन् । गतवर्ष दशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकहरूले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिंदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको यसअघि नै बताइएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको हुने जानकारी दिएका छन् ।
संक्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको उनको भनाइ छ । हाल बैंकहरूले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् । दशैंका समयमा वाणिज्य बैंक बन्द गर्ने विषय नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागले बताएको छ ।