कोरोनाको त्रासः बैंकका उपल्ला तहका कर्मचारी ‘वर्कफर्म होममा’, तल्ला तहकालाई पेलाई
काठमाडौं, १२ कात्तिक । कोरोना महामारीले अधिकांश मानिसहरुको दिनचर्या नै परिर्वतन भएको छ। ‘वर्क फ्रर्म होम’ अर्थात घरबाट काम गर्ने संस्कारको थालनी यही कोरोना महामारीले गराएको हो । तर यो संस्कारले पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा समस्या उत्पन्न गराएको छ ।
कोरोनाको जोखिम देखाउदै बैंकका उपल्ला तहका कर्मचारीहरु घरबाटै काम गर्ने तर तल्ला तहका कर्मचारीलाई भने महामारीबेला पनि फिल्डमै काम गर्नु पर्दा संक्रमणको जोखिम उच्च रहेको गुनासो बढ्न थालेको छ । पछिल्लो समयमा बैंक कोरोना संक्रमणको हटस्पट बनेको छ । काठमाडौं उपत्यका सहित देशभरका बैंकहरुमा कोरोना संक्रमतिहरुको संख्या बढ्दो छ ।
अनलाईन र डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न बैंकहरुले जोड दिएपनि बैंकमा ग्राहकको भिड कम नभएको एक बैंकका कर्मचारीले अर्थको अर्थलाई बताए । ‘जोखिम बढ्दो छ । यो बेला उपल्लो तहका कर्मचारीले घरबाटै निर्देशन दिदा कामको बोझ पनि थपिएको छ । त्यसले गर्दा काम गर्न समस्या हुन थालेको छ ।’ नाम उल्लेख नगर्ने सर्तमा उनले आफ्नो गुनासो पोखे ।
तलब कम तर जिम्मेवारी बढी हुन थालेपछि कर्मचारीहरु रुष्ट छन् । अझ करारमा रहेकाहरु कर्मचारीहरुलाई यो संक्रमणको बेला भएको पेलाईबाट जागरिबाट भाग्ने की रोगबाट भाग्ने भन्ने दुविधामा छन् । ‘उपल्ला तहका कर्मचारीहरुले त जागरि पनि बच्ने संक्रमणको जोखिमबाट पनि बच्ने राम्रो बहाना पाई हाले वर्कफर्म होम तर हामीले चाही के गर्ने दुविधामा छौं ।’
काठमाडौं उपत्यकाकै बैंकका कतिपय शाखाहरु कोरोना संक्रमण देखिएपछि बन्द गरिएका छन् ।
संक्रमणको त्रास बढेपछि बैंकका सिईओ, डेपुटी सिईओहरु वर्क फर्म होम भन्दै बैंक आउनै छोडेका छन् । तर बैंकको काउन्टर, कस्टमर सर्भिस र फिल्डमा हिड्ने बस्ने कर्मचारीहरु धेरै जोखिममा छन् । यो अवस्थामा नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुको कामको पनि निरिक्षण गर्नुपर्ने माग उनीहरुको छ।