नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य
काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
यसअघि उनी प्राधिकरण स्वामित्वमा रहेको एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति दिनुपर्ने आवाज उठिरहेका बेला निमित्त कार्यकारी निर्देशकमा शाक्यको नियुक्तिले घिसिङ दोहोरिने सम्भावना कम रहेको अनुमान गरिएको छ ।