युनाइटेड इदी–मर्दी हाइड्रोपावरको आइपीओ निष्कासन मिति परिवर्तन
काठमाडौं, २६ कात्तिक । युनाइटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गते (भोली)देखि निष्कासन गर्न लागेको आईपीओको मिति परिवर्तन भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनमा आगामी मंसिर ३ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर एक सय रुपैयाँमा सर्वसाधारणलाई ८ लाख १२ हजार ७३६ कित्ता सेयर बिक्री गर्न लागेको छ । कम्पनीले पहिलो चरणमा स्थानीयलाई सेयर बिक्री गरी दोस्रो चरणमा सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्न लागेको हो।
यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेकोमा स्थानीयबाट बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्तासहित ८ लाख ७३ हजार ९१० कित्ता आइपीओ निष्कासन गर्न लागेको छ ।
यसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ।
कम्पनीले स्थानीयलाई असोज ४ गतेदेखि कात्तिक ६ गतेसम्म ४ लाख २० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो। स्थानीयबाट १ लाख ७६ हजार ९० कित्ता निष्कासन भएको शेयरमा आधा पनि बिक्री भएको छैन।