Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिँदै

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिँदै

काठमाडौं, २७ कात्तिक । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आगामी महिनाभित्र परीक्षण गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्ममा सकिने भारतीय कम्पनीले बताएको छ । केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको आयोजनाले बताएको छ ।
मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौंमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने अनुमान गरिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने बताइएको छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ ।
सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरू प्रवक्ता शाक्यले बताएका छन् । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनको भनाइ छ ।
यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकोमा एक सातामा पानी बाहिर निस्केको थियो ।
आयोजनाको बाँकी काम सम्पन्न गर्नेगरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै ६ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गर्न लागिएको छ ।
दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्यांकी निर्माण गरिएको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं ल्याउन संस्थागत पहल शुरू भएको दुई दशक भएको छ । तर विभिन्न कारणले अहिलेसम्म पनि आयोजना सम्पन्न हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x