Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चक्रपथ दोस्रो खण्ड विस्तार : ‘साइट क्लियर’ गर्ने काम अन्तिम चरणमा

चक्रपथ दोस्रो खण्ड विस्तार : ‘साइट क्लियर’ गर्ने काम अन्तिम चरणमा

काठमाडौं, ९ मंसिर । काठमाडौं चक्रपथको दोस्रो खण्ड कलंकी–धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि साइट क्लियर (निर्माणस्थल खाली गर्ने) काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारले निर्माण शुरू गर्नुपहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम ९७ प्रतिशत सकिएको आयोजनाले बताएको छ ।
उक्त सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेकोमा अहिलेसम्म आठ घरधनी सम्पर्कमा आएको काठमाडौं चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैं पहिले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो । तिहार पहिले प्रजिअ दाहाललाई कोभिड संक्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उनले बताए । छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुंग्याएर अघि बढ्ने उनको भनाइ छ ।
अहिले वडा कार्यालयबाट ती घरको विवरण मागिएकाले त्यसैका आधारमा मूल्यांकन गरेर काम अघि बढ्ने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिए । सानो भ¥याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो ।
काठमाडौं महानगरपालिकाले स्वयम्भू नजीकै रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उनको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रूख काट्ने र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने उनले बताए ।
दुई महीना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउन समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरिएको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम शुरू गर्ने बताएको छ ।
चक्रपथ दोस्रो खण्डमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै ८ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्नेगरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x