नेपाल–भारत विदेश सचिवस्तरीय बैठक आज
काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आउदै छन्। श्रृंगलाले आजै काठमाडौंको होटल याक एन्ड यतीमा हुने नेपाल–भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्।
बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य एजेण्डामा पर्ने बताइएको छ। नेपाल– भारत बिदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ।
बैठकमा सहभागी भएपछि भारतीय विदेश सचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन् । सचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।