Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, १४ मंसिर । लमजुङ र गोरखा जिल्लाको सीमा भएर बग्ने चेपे खोलामा झण्डै नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाको वातावरणीय प्रभावका बारेमा परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रवद्र्धक कम्पनीका तर्फबाट आइतवार एक सार्वजनिक सूचना जारी गरिएको छ ।

चेपे खोलाको पानी प्रयोग गरी गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा आयोजनाको विद्युत्गृह स्थापना हुनेछ । नदी प्रवाही प्रकृतिको आयोजनाबाट कूल ८.८३ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना चेपे खोलाको बायाँ किनारमा पर्दछ । आयोजनाको विद्युत्गृह चेपे खोलाको तालबगरमा रहेको छ ।

विद्युत् उत्पादनका लागि १.५ मिटर लम्बाइ र १.५४ मिटर उचाइको बाँध निर्माण हुनेछ । खोलाको पानीलाई तीन हजार ११९ मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पठाइनेछ । विद्युत्गृहमा ४.७ मेगावाट क्षमताका दुई वटा टर्वाइन जडान गरिनेछ । उत्पादित विद्युत् २८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित स्थानीय कीर्तिपुर सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट विसं २०८० जेठ २९ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक ५६.४१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाले स्थानीयस्तरमा पार्ने वातावरणीय प्रभावका बारेमा जानकारी दिन विभाग र प्रवद्र्धक कम्पनीले सार्वजनिक सूचनामार्फत आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x