Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चालू वर्षको चार महिनामा सिँचाईमा नौ प्रतिशत मात्र बजेट खर्च

चालू वर्षको चार महिनामा सिँचाईमा नौ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं, २१ मंसिर । चालू आर्थिक वर्ष २०७७–०७८ को पहिलो चार महिनामा सिँचाइतर्फ जम्मा नौ प्रतिशतमात्र खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइतर्फ २४ अर्ब ६९ करोड २९ लाख बजेट रहेकोमा ८.९१ प्रतिशत मात्र खर्च भएको जानकारी दिइएको छ ।

मन्त्रालयले चालू वर्षको चौमासिकमा पुँजीगततर्फ ४ अर्ब १० करोड ८४ लाख तथा चालूतर्फ २९ करोड ३६ लाख खर्च गर्ने लक्ष्य राखेको थियो । चौमासिकमा गर्नुपर्ने खर्चमध्ये पुँजीगततर्फ १ अर्ब ९७ करोड मात्र खर्च भएको छ भने चालूतर्फ २२ करोड ७६ लाख खर्च भएको छ ।

पहिलो र दोस्रो प्राथमिकता (पी १ र २) का २८ आयोजना रहेको सिँचाइमा पी–१ तर्फ ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको संख्या ७, ५०–८० प्रतिशत प्रगति रहेको ४ र ८० देखि एक शतप्रतिशतसम्म प्रगति हुनेमा १३ आयोजना छन् भने पी–२ तर्फ २ आयोजनाले ५० देखि ८० र २ ले ८० प्रतिशत माथि प्रगति गरेका छन् । आयोजनाहरूमा ८० प्रतिशतभन्दा कम प्रगति हुनुमा कोभिड–१९, बर्षाद, कर्मचारी सरुवा तथा पदस्थापना, विभिन्न कार्यालयहरूलाई कार्य विभाजन गरी केन्द्रको कार्यक्रमलाई सम्बन्धित कार्यलयमा पठाउन संशोधन प्रस्ताव हुँदा समय लागेको बताइएको छ ।

सिँचाइमा पुँजीगत खर्च कमजोर देखिए पनि मन्त्रालयले भने विकासे आयोजनाहरूको प्रगति रहेको दाबी गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७–०७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एम्ड्याक) बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनहरूले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति दाबी गरेको हो ।

ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । यस्तै सिंचाइतर्फको वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३. ६४ छ । मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतशित छ । मन्त्रालयको आर्थिक वर्ष २०७७–७८ का लागि कूल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x