गौतमबुद्ध विमानस्थलको काम सक्न निर्माण कम्पनी र आयोजना प्रमुखलाई पर्यटनमन्त्रीको २५ दिने होमवर्क
काठमाडौं, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न योजना प्रमुख र निर्माण कम्पनी नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले २५ दिनको ‘होमवर्क’ दिएको भन्दै २५ दिनपछि दुबैले जवाफ दिनुपर्ने बताए ।
उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको जानकारी दिए । आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए ।
उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए ।