Shangrila

१० वर्षमा मुलुकको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने

काठमाडौं, २४ मंसिर । सरकारले मुलुकको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरेको छ । मंगलवार नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीसँगको भेटवार्तामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले उक्त जानकारी गराएका हुन् ।
रूसले नेपालको ऊर्जाक्षेत्रमा लगानी गर्न रुचि देखाएको सन्दर्भमा मन्त्री पुनले आगामी १० वर्षमा बढी भएको विद्युत् निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकिएको बताए ।
आगामी दिनमा स्वदेशी वा विदेशी लगानीमा निर्माण हुने आयोजनाको विद्युत् सीधै बाह्य बजारमा पठाउन सक्ने गरी लचिलो कानूनी प्रावधानको समेत व्यवस्था गरिएको भन्दै मन्त्री पुनले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको बताए । विदेशी कम्पनीले एकल, नेपाली कम्पनीसँगको संयुक्त लगानी वा सरकारी कम्पनीसँग मिलेर जलविद्युत्मा लगानी गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।
भारत र बंगलादेशमा पर्याप्त माग रहेकाले विद्युत् बजारको अभाव नरहेको उनले बताए ।
नेपाल–भारत ‘पावर एक्सचेन्ज’ सम्झौताअनुसार हाल दुवै देशले आवश्यकताअनुसार विद्युत् लिने–दिने गरिरहेको भन्दै मन्त्री पुनले गतवर्ष मात्र नेपालले वर्षायाममा रू. ३५ करोडको विद्युुत् भारतलाई बेचेको जानकारी गराए ।
नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेकोमा लक्ष्य भेट्ने गरी काम भइरहेको दाबी मन्त्री पुनले गरे । हालसम्म नेपालको जलविद्युत्मा भारत, चीन, कोरिया र नर्वेजियन कम्पनीका आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउँदै मन्त्री पुनले अष्ट्रेलियासहित अन्य मुलुकले समेत लगानीको इच्छा देखाएको उल्लेख गरे ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *