Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

६ मन्त्रालयको चौमासिक प्रगति प्रस्तुत, समस्याग्रस्त आयोजनालाई गति दिन आयोगको निर्देशन

६ मन्त्रालयको चौमासिक प्रगति प्रस्तुत, समस्याग्रस्त आयोजनालाई गति दिन आयोगको निर्देशन

काठमाडौं, २४ मंसिर । राष्ट्रिय योजना आयोगमा मंगलवार विभिन्न ६ मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका छन् । कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चौमासिक प्रगति समीक्षा प्रस्तुति गरेका हुन् ।
भर्चुअल समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले मन्त्रालयका सचिवलाई आवश्यक सुझाव र निर्देशनसमेत दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधन समितिबाट समाधान हुन नसकेका विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधानका लागि सुझाव तयार गर्नुपर्ने, समस्याग्रस्त र विशेष रूपमा अनुगमन गर्नुपर्ने कार्यक्रम तथा आयोजनाको पहिचान र कार्यान्वयनको लागि गति प्रदान गर्न सचिवलाई निर्देशन दिएका हुन् ।

आयोगका उपाध्यक्ष कँडेलले केन्द्रीयस्तरमा अनुगमन एवं अन्तरमन्त्रालय तथा निकाय समन्वय, गरिबीको अवस्थाका बारेमा गरिने सर्वेक्षण, तथ्यांक संकलन, विश्लेषण तथा राष्ट्रियस्तरको प्रतिवेदन तयारी सम्बन्धमा आवश्यक मार्गदर्शन दिने, नयाँ कार्यक्रम तथा आयोजनाको सिफारिस गर्ने, अनुगमन तथा मूल्यांकनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र निर्देशन दिनुपर्ने बताएका छन् ।
बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेल्वासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्रम मन्त्रालयका सचिव तोयम रायाले आआफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् । सचिवहरूले मन्त्रालयगत आयोजनामा देखिएका समस्या समाधानका लागि गरिएका प्रयास, पहिचान गरिएका विकल्प र निर्णयका लागि राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्तुत गर्नुपर्ने प्रस्तावित विषयबारे जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x