खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न सरकारको गृहकार्य जारी : प्रधानमन्त्री ओली

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’को अवधारणा साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको बताएको राससमा उल्लेख छ ।
सरकारले यस वर्ष ३९६ स्थानीय तहमा पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्यअनुरूप एकैदिन ३०९ स्थानीय तहमा आधारभूत अस्पताल र तीन प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । यी सबै प्रयासबाट नेपालमा कोभिड–१९ को महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको र बन्दाबन्दीदेखि नै जनसमुदायको असाधारण सहयोग रहिआएको उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीले मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्दै नेपालको संविधान तथा कानूनले तोकेको दायित्व एवं नेपालद्वारा अन्तरराष्ट्रियस्तरमा व्यक्त प्रतिबद्धता पूरा गर्न संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारी किटान गरी क्रियाकलाप र समयसीमासमेत निर्धारण गरेर समन्वय र अनुगमनको संयन्त्रसहितको मानवाधिकारसम्बन्धी पाँचाँं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएका छन् ।