ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता
काठमाडौं, ६ पुस । चालू आर्थिक वर्षको ५ महिनामा मुलुकको ऊर्जा क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार मंसिर मसान्तसम्ममा ऊर्जामूलक उद्योगमा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट ५३ अर्ब ६३ करोड रुपैयाँ बरारबको लगानी प्रतिबद्धता आएको हो ।
१३ वटा उद्योगका लागि यस क्षेत्रमा उक्त लगानी आउने भएको हो । ऊर्जापछि धेरै लगानी प्रतिबद्धता उत्पादनमूलक उद्योगका लागि आएको छ । यस क्षेत्रमा २३ वटा उद्योगका लागि ५ अर्ब ५९ करोड ८४ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ । यसपछि पर्यटनका १७ उद्योगमा ३ अर्ब ३० करोड ८७ लाख र सेवामूलक २२ उद्योगमा ३ अर्ब ३० करोड ७८ लाख र कृषि तथा वन पैदावारमा आधारित ११ वटा उद्योगमा २ अर्ब ९० करोड ७९ लाख लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार सो अवधिमा सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सबैभन्दा कम ६० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । चारवटा उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।