आवको ५ महिनामा १० प्रतिशतले घट्यो आयात, निर्यातमा ५ प्रतिशत वृद्धि
काठमाडौं, ९ पुस । चालू आर्थिक वर्ष (आव) २०७७÷७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १० प्रतिशतले घटेको छ भने निर्यातमा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
विभागको तथ्यांकअनुसार चालू आवको पाँच महिनाको अवधिमा रू. ५ खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो । गत आवमा रू. ५ खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी ५ महिनाको अवधिमा रू. ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ ।
गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । गत आवमा सोही अवधिको तुलनामा रू. ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।