Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण अघि बढाइँदै

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण अघि बढाइँदै

काठमाडौं, ९ पुस । सरकारले मेलम्ची खानेपानी आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा झार्ने तयारी गरिरहँदा दोस्रो चरणको निर्माण समेत अघि बढाइँदै छ । दोस्रो चरणमा याङ्ग्री नदीको पानी ल्याउन आवश्यक पर्ने संरचना निर्माण अघि बढेको हो ।
आयोजनाका अनुसार निर्माणस्थलसम्म सडक निर्माण शुरू भइसकेको छ भने चालू आर्थिक वर्षमै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ ।
आयोजनाका लागि मुख्य संरचना बनाउन सडक निर्माण गर्न आवश्यक रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार मेलम्चीको पुलबजारदेखि निर्माणस्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ । मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ भने त्यसका लागि आवश्यक बजेट मेलम्ची खानेपानी विकास समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैँले गरेको छ ।
शुरूमा पुल बजारदेखि रातोमाटेसम्म पाँच किमी र रातेमाटेबाट धापसम्म १० किमी सडक निर्माण डिभिजनले अघि बढाइरहेको छ । धापदेखि ठूलो भोटाङसम्मको सडक निर्माण समितिले गरिरहेको हो ।
पच्चीस किमी सडक निर्माण चालु आवभित्रै सकाउने लक्ष्य राखे पनि मुआब्जालगायतको विवादका कारण समस्या आइरहेको प्रवक्ता पन्तको भनाइ छ ।
मेलम्चीको दोस्रो चरणको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न पहिले वातावरण प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने आयोजनाले बताएको छ ।
मेलम्चीको पानी परीक्षणका लागि गत असारमा सुरुङमा पानी पठाइए पनि दुर्घटनाका कारण सुरुङको पुनः मर्मत गरेर मात्रै परीक्षण गरिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x