माथिल्लो तामाकोशी आयोजना : चैत मसान्तसम्ममा पहिलो युनिटबाट विद्युत् उत्पादन हुँदै
दोलखा, १० पुस । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चालू आवको चैत मसान्तसम्ममा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन हुने भएको छ । लकडाउन, प्राविधिक उपकरण आयातमा ढिलाइ लगायत कारणले आयोजनाबाट विद्युत् उत्पादन हुने मिति अनिश्चित बन्दै गएको थियो ।
पूर्ण क्षमता (४५६ मेगावाट)मा उत्पादन भने आगामी असार मसान्तसम्मबाट हुन सक्ने अनुमान आयोजनाले सार्वजनिक गरेको छ । यसअघि २०७७ पुसमा आयोजना सम्पन्न हुने कार्यतालिकालाई संशोधन ७ महिनाभित्र आयोजना सम्पन्न गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोजनाको हाइड्रोमेकानिकल कार्यतर्फको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स ल्याउन ढिलाइ गरेकाले आयोजनाको निर्माण धकेलिएको आयोजनाका प्रवक्ता डा. गणेश प्रसाद न्यौपानेले बताए । ९९ दशमलव ३ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनालाई एक्पान्सन ज्वाइन र डिम्मेन्टेबल बक्स ढुवानीको ढिलाइले करोडौं लागत बढाएको उनको भनाइ छ ।
आयोजनामा मुख्यतः माथिल्लो पेनस्टकको अडिट प्लग, भैंसे अडिटमा प्लग, सर्ज सुरुङ अडिट प्लग र माथिल्लो पेनस्टक साफ्टको बेण्ड राख्ने तथा माथिल्लो र तल्लो पेनस्टक साफ्टको विचको होरिजेन्टल पेनस्टक राख्ने काम बाँकी रहेको आयोजनाले सार्वजनिक गरेको संशोधित कार्यतालिकामा उल्लेख छ ।
संशोधन गरिएको कार्यतालिकामा आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि निर्माण भएको प्रसारणलाइनको कालिञ्चोक गाउँपालिकाको पुटुङस्थित भाँचिएको टावर निर्माण कार्य भने समेटिएको छ्रैन । मुआब्जा विवादका कारण प्रशारणलाईन अन्र्तगत २२०÷१३२ केभीको ४ ओटा टावर र मल्टिसर्किट एक गरी ५ ओटा टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
३५ अर्ब २९ करोड लागत अनुमान गरी २०६७ भदौबाट निर्माण सुरु भएको आयोजनाको पछिल्लो संशोधित लागत निर्माण अवधिको ब्याज नजोडी ४९ अर्ब २९ करोड पुगिसकेको छ ।