Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

पुनर्निर्माण प्राधिकरणको ५ वर्ष : निजी आवासतर्फ ९१ प्रतिशत प्रगति

पुनर्निर्माण प्राधिकरणको ५ वर्ष :  निजी आवासतर्फ ९१ प्रतिशत प्रगति

काठमाडौं, ११ पुस । २०७२ सालको भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा हालसम्म ९१ प्रतिशत प्रगति भएको छ । भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण, प्रबलीकरण र पुनःस्थापनाका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ वर्ष पूरा गरेको अवसरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
निजी आवास पुनर्निमाणका लागि ७ लाख ९६ हजार २४५ लाभग्राहीसँग अनुदान सम्झौता गरिएकोमा ५ लाख ५६ हजार ४८७ (७० प्रतिशत)ले घर पुनर्निर्माण गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । साथै १ लाख ६८ हजार ८३ (२१ प्रतिशत) लाभग्राही पुनर्निर्माणको अन्तिम चरणमा रहेको उनले बताएका हुन् ।
प्राधिकरणका अनुसार भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा मिलाउने काम भएको छ । यस्तै ११ हजार ४३७ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । निर्माणाधीन १३० एकीकृत बस्तीमध्ये ५० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ ।
प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि स्वीकृत भएको कुल बजेट ४ खर्ब ८८ अर्बमध्ये हालसम्म नेपाल सरकार र दातृ निकायको समेत गरी ३ खर्ब ३९ अर्ब खर्च भइसकेको छ ।
कोभिड–१९ का कारण पुनर्निर्माण प्रभावित भएपछि सरकारले प्राधिकरणको कार्यावधि १ वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को १५ मंसिरको बैठकले प्राधिकरणको म्याद १० पुस २०७८ सम्मका लागि थपेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x