बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप परिचालनमा ५ प्रतिशत वृद्धि
काठमाडौं, १२ पुस । चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी पछिल्लो प्रतिवेदनले यसतो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३३.४ प्रतिशत र ५०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, ३२.५ प्रतिशत र ४८.७ प्रतिशत रहेको थियो ।
२०७७ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत रहेको छ । २०७६ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४.७ प्रतिशत रहेको थियो ।
चालू आवको पहिलो ४ महिनामा कुल आन्तरिक कर्जा भने ४.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ कात्तिक मसान्तमा यस्तो कर्जा १५.७ प्रतिशतले बढेको छ ।