कोरोना बीमाको दाबी भुक्तानी बढ्यो
काठमाडौं, १२ पुस । कोरोना बीमाको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
समितिको तथ्यांक अनुसार शुक्रवार (पुस १० गते)सम्ममा कुल १५ हजार ८७९ जना बीमितले दाबी भुक्तानी पाएका छन् ।
कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएकोबारे गुनासो बढ्न थालेपछि कात्तिक १८ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई दाबी भुक्तानी छिटो अघि बढाउन निर्देशन दिएका थिए । १ हजार ७९१ जनाले मात्र त्यतिबेला कोरोना बीमाको दाबी भुक्तानी पाएका थिए ।
सो आधारमा हेर्दा तीन हप्ता अवधिमै १४ हजारभन्दा बढीले कोरोना बीमाको दाबी भुक्तानी पाएको देखिन्छ । हालसम्मको दाबी भुक्तानी रकम भने रू. १ अर्ब ५४ करोड ९३ हजार लाख रहेको छ ।
बीमा दाबी भुक्तानीका लागि शुक्रवारसम्म परेका आवेदनमध्ये ७९ वटा भने अयोग्य ठहरिएको बीमा समितिले जानकारी दिएको छ । समितिका अनुसार कोरोना दाबी भुक्तानीका लागि हालसम्म २९ हजार २७० आवेदन परेका छन् ।