Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै

काठमाडौं, १७ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशन आज (शुक्रवार)देखि शुरू हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन आह्वान गरेकी हुन् । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने भएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको छ, जस अनुसार बैठकको प्रारम्भमै अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ । यसपछि अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
यसैगरी राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका विषय समेत उठ्ने भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाइने बताएकी छिन् ।
राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्माले सरकारका कामकारवाहीलाई सहयोग पु¥याउने तथा जनताका समसामयिक आवाजलाई उठाउने विगतको अभ्यासकै रुपमा सदन अघि बढ्ने बताए ।
यस्तै राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधित्व गर्ने रमेशजंग रायमाझीले प्रतिनिधिसभा विघटन र विगतमा उठाउँदै आएको शान्ति सुरक्षा, भ्रष्टाचार र कोरोनाका समयमा जनताले पाउन नसकेको सेवा सुविधाका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x