राष्ट्रपतिका लागि बामगठबन्धनबाट भण्डारी र कांग्रेसकी राईको उम्मेदवारी
काठमाडौं, २३ फागुन । राष्ट्रपतिका लागि सत्तारुढ दलको तर्फबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी छिन् । भण्डारीलाई दोस्रो कार्यकालका लागि बामगठबन्धनले उम्मेदवार बनाएको हो ।उनी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी थिइन ।
एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउने सम्भावना बढी छ ।
संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी र पुनले दोस्रो कार्यकाल पनि निरन्तरता पाउने निश्चितप्राय देखिन्छ । राष्ट्रपति निर्वाचन फागुन २९ गते हुदैछ ।