Shangrila

पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकमा लगानीको वातावरण बिग्रने चिन्ता

काठमाडौं, १९ पुस । सरकारले संसद विघटन गरेर आगामी वर्षको वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ । मुलुकमा अप्रत्यासित रुपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबाट अर्थतन्त्रमा देखिएको सम्भावनाहरु थप जोखिममा धकेलेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बताए । दुई तिहाइको बहुमतसहित पाँच वर्षका लागि सरकार बनेपनि तीन वर्ष नपुग्दै देशको राजनीति अस्थिरतातर्फ धकेलिएपछि उद्यम र लगानीको वातावरण अझ बिग्रिने चिन्ता बढेको उनले बताए ।

कोरोनाले संकटमा परेको व्यवसायलाई राहत दिनुपर्ने बेला राजनीतिक घटनाले व्यवसायीलाई थप आहत बनाएको निश्कर्ष छ । प्रतिनिधि सभामा भन्सार विधेयक बीमा विधेयक लगायतका आर्थिक तथा सामाजिक विषयसँग सम्बन्धित ३० भन्दा बढी विधेयक विचाराधिन छ । संसद विघटन भएसँगै ति विधेयकहरु निर्माण एवं संशोधनको प्रक्रिया रोकिएकोले मुलुकको आर्थिक विकासमा समस्या हुने उनको तर्क छ।

यो बाहेक निर्वाचनले मुलुकलाई थप आर्थिक भार समेत थोपर्ने छ । निर्वाचनमा ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । त्यसका लागि आवश्यक रकम जोहो गर्न विकास निर्माणका लागि छुट्याइएको बजेट कटौती गर्नुपर्ने अवस्था छ । यसले विकास निर्माण समेत प्रभावित हुने अर्थशास्त्री केशव आचार्य बताउछन् ।

व्यवसाय विकास र लगानी प्रवद्र्धनका लागि स्थिर सरकारलाई मियोको रुपमा लिइन्छ । तर आगामी निर्वाचनबाट कस्तो जनादेश प्राप्त हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन् । यसले गर्दा व्यवसायीहरुलाई सरकार अस्थिर हुने हो की भन्ने चिन्ता छ । मुलुकको विकास र समृद्धिका लागि सरकारले नीजि क्षेत्रलाई प्रमुख साक्षेदारको रुपमा मान्दै आएको छ। त्यसले गर्दा पछिल्लो घटनाक्रमले निजी क्षेत्रको मनोवल कमजोर हुने र वैदेशिक लगानी निरुत्साहित हुने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव उनको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *