अपि पावरले बनाउने ४ मेगावाट सौर्य ऊर्जा परियोजनामा वित्तीय लगानी जुट्यो
काठमाडौं, २१ पुस । अपि पावर कम्पनी लिमिटेडले बनाउन लागेको ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य ऊर्जा आयोजनाका लागि वित्तीय लगानी जुटेको छ । सो आयोजनाका लागि कुल लागतको ७५ प्रतिशतले हुने २४ करोड ७५ लाख बैंक अफ काठमाडौले बैंक ऋण लगानी गर्ने भएको हो । सोमवार बैंक र प्रवद्र्धक कम्पनीबीच यससम्बन्धी सम्झौता भएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा अपि पावर कम्पनीका अध्यक्ष सतिस न्यौपाने र बैंक अफ काठमाडौंका चिफ बिजनेस अफिसर विमल डाँगीले हस्ताक्षर गरेका छन् ।
यस आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजना निर्माणका लागि ३३ करोड रुपैयाँ लाग्ने अनुमान छ । कुल लागतमध्ये २५ प्रतिशतले हुने रकम ८.२५ करोड कम्पनीले आफ्नो स्वपूँजीबाट लगानी गर्नेछ ।
अपि पावर कम्पनी लिमिटेडले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र दाश्रो ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरिरहेको छ । संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको बलाचँ सवस्टेशनमा जडान गरी अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाइनमार्फत प्रवाह भइरहेको छ ।
सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी कम्पनीले तेश्रो जलविद्युत आयोजना ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निर्माणको कार्य द्रुत गतिमा गरिरहेको छ ।
यस आयोजना निर्माणका लागि जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । कुल लागतमध्ये ७० प्रतिशतले हुने रकम ५१८ करोड हिमालन बैंक लिमिटेडको अगुवाइमा बैंक ऋण प्रवाह गर्नेगरी वित्तिय व्यवस्थापन सम्झौता भइसकेको छ । बाँकी ३० प्रतिशतले हुने रकम २२२ करोड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने गरी कम्पनीले काम गरिरहेको छ, जसमध्ये प्रथम चरणको हकप्रद १ शेयर बराबर नयाँ ०.४७ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयर निस्कासन गरी रकम संकलन गरी सकेको छ । त्यसबाट ४३ करोड २३ लाख ७८ हजार २ सय रुपैया स्वपूँजी संकलन गरिएको छ । विक्री नभएको १३ लाख ४६ हजार २ सय १० कित्ता शेयर शिलबन्दी बोलकबोल प्रक्रियाबाट खुल्ला गरी आवदेन प्राप्त गरिएकामा अधिकतम मूल्य २ सय ३० रुपैयाँ र न्यूनतम २ सय २ रुपैयाँका दरले प्रति कित्ता बाँडफाँट गरी कम्पनीले २८ करोड ६७ लाख १९ हजार ४ सय ३५ रुपैयाँ संकलन गरेको छ ।
उक्त आयोजनाको निर्माण २४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् बिक्रीबाट प्रथम वर्ष १६२ करोड आय आर्जन हुनेछ । उक्त आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।