Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

चिनियाँ सहयोगका ठूला सडक निर्माण योजना सुस्त

चिनियाँ सहयोगका ठूला सडक निर्माण योजना सुस्त

काठमाडौं, २४ पुस । चीन सरकारको आर्थिक सहयोगमा निर्माण हुने ठूला सडकको काम सुस्त देखिएको छ । नेपालमा कोभिड–१९ को संक्रमण देखिएदेखि नै चिनियाँ सहयोगका सडक निर्माण अघि बढ्न नसकेको हो । कोभिड संक्रमणको जोखिमका कारण स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढाउन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापालाई उृद्धत गर्दै राससले उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरू हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै कम हुन सक्ने उनको भनाइ छ ।
चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकी सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डको विस्तारमा चासो देखाएको थियो । सरकारले कलंकी–चाबहिल (गोपीकृष्ण हल)सम्म सडक विस्तारका लागि निर्माणस्थल खाली गराइरहँदा चिनियाँ टोली भने फर्किएका छैनन् । उनीहरू नफर्किएसम्म सडक निर्माण अघि नबढ्ने थापाले बताए ।
चीन सरकारको सहयोगमै निर्माण गरिने रसुवागढी–स्याफ्रुबेँसी सडक निर्माण ठप्प छ । चीन सरकारको नै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग मर्मतको कामसमेत गर्ने गरी छलफल भए पनि त्यो अहिले अघि नबढेको विभागले बताएको छ ।
कोभिड–१९ का कारण लामो समयसम्म पूर्वाधार निर्माण सुस्त रहे पनि सरकारका लगानीका अधिकांश योजना अहिले अघि बढिरहेका छन् । सरकारले कोभिड–१९ कै कारण निर्माणमा बाधा पुगेका योजनालाई छ महिना अवधि थप गरेर निर्माण अघि बढाइरहेको छ । अन्तर्राष्ट्रिय निर्माण कम्पनी संलग्न योजनामा भने काम गर्न अझै सहज नभएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x