Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पूर्णरूपमा सञ्चालन भएन भैरहवा सेज, नीतिगत कमजोरी हटाउन उद्योगी व्यवसायीको माग

पूर्णरूपमा सञ्चालन भएन भैरहवा सेज, नीतिगत कमजोरी हटाउन उद्योगी व्यवसायीको माग

काठमाडौं, २४ पुस । निर्यात व्यापार बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित शुरू गरिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज ) २० वर्षमा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा घटाउने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउनेजस्ता उद्देश्य राखेर विशेष आर्थिक क्षेत्रको अवधारणा ल्याए पनि पाइलट परियोजनाको रूपमा रहेको भैरहवा सेजसमेत पूर्णरूपमा सञ्चालनमा आउन नसकेको होे ।
पूर्वाधारको विकास र ऐनमा भएका कतिपय प्रावधानले उद्योग सञ्चालनमा आउन नसकको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । सेज प्राधिकरणले भने पूर्वाधारको विकासमा कुनै कमी हुन नदिने बताउँदै आएको छ ।
शुरूमा उत्पादित वस्तुको ८० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधानले उद्योग आउन नचाहेको बताउँदै आएका थिए । तर, पछि ६० प्रतिशत मात्र निर्यात गर्नुपर्ने गरी सेज ऐन संशोधन भए पनि उद्योगी व्यवसायी आकर्षित हुन सकेका छैनन् । व्यवसायीले यो ६० प्रतिशत निर्यातको व्यवस्था पनि धेरै भएको र सेजमा तय गरिएको जग्गाको भाडा दर पनि महँगो भएको र यसलाई अझै कम गर्नुपर्ने बताउँदै आएका छन् ।
बिहीवार काठमाडौंमा भर्च्युअल माध्यमबाट भएको एक कार्यक्रममा सरोकारवालाहरुले सेज शुरू भएको २० वर्षमा पनि सेज पूर्ण सञ्चालनमा आउन नसक्दा यसमा भएका नीतिगत कमजोरी हटाई सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले लामो समयसम्म सेज सञ्चालनमा आउन नसक्दा अन्य सेजकै भविष्य के हुने भन्ने अन्योल देखिएको बताए ।
पूर्वसचिव विमल वाग्लेले विद्युत् आपूर्ति, अन्य पूर्वाधारको विकासदेखि निर्यातको कोटा कम गर्दै उद्योगीलाई प्रोत्साहन नगर्दासम्म सेजमा उद्योगीको आकर्षण नबढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग समितिका सभापति भरतराज आचार्यले अब सेजको अवधारणामै परिवर्तन आवश्यक भएको औंल्याए ।
नेपाल उद्योग परिसङ्घका उद्योग समितका उपाध्यक्ष राहुल अग्रवालले कुनै उद्योगीले २५ वर्ष कुरेर आफ्नो उत्पादन बजारमा ल्याउन नसक्ने बताए । ६० प्रतिशतको निर्यातको प्रावधान र महँगो भाडादर पनि व्यावहारिक नभएको गुनासो उनको छ ।
नेपाल चेम्बर अफ कमर्शका उद्योग समितिका सभापति दीपक श्रेष्ठले पूर्वाधारको विकास, एकीकृत भन्सार जाँचपास र सहजीकरणतर्फ ध्यान नदिने हो भने सेजमा छिरेका उद्योग पनि बाहिरने अवस्था आउने बताए ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरहरराज न्यौपानेले भैरहवा सेजको लागि ३३ केभिए प्रसारण लाइनका लागि केही समय लाग्ने भए पनि तत्कालै उद्योगलाई आवश्यक पर्ने विद्युत् दिन प्राधिकरण तयार रहेको बताए । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिजालले भैरहवासहित अन्य सेज सञ्चालनको लागि पूर्ण प्रयास भइरहको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x