भारतमा बर्डफ्लु देखिएपछि नेपालमा कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक
काठमाडौं, २४ पुस । भारतमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ । विगत १ सातादेखि भारतका हिमाचल प्रदेश, केरलालगायत विभिन्न राज्यमा हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो ।
बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ ।