राजस्व संकलन लक्ष्यको करिब ४२ प्रतिशत मात्र
काठमाडौं, २ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको राजस्व संकलन कमजोर देखिएको छ । सो अवधिमा सरकारी राजस्व संकलन लक्ष्यको आधा पनि पूरा हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा सरकारले रू. १० खर्ब ११ अर्ब ७५ करोड राजस्व असुलीको लक्ष्य राखेको छ । तर महालेखा परीक्षक कार्यालयको पुस मसान्तसम्मको तथ्यांकले कुल राजस्वको ४१.७३ प्रतिशत मात्र असुली भएको देखाएको छ । आधा आर्थिक वर्ष बित्दा रू. ४ खर्ब २२ अर्ब २३ करोड मात्र संकलन हुन सकेको छ । यसले बाँकी ६ महिनामा राजस्वको निर्धारित लक्ष्य हासिल गर्न मुश्किल पर्ने देखिएको छ ।
यसैगरी सो अवधिमा सरकारको पूँजीगत खर्चको प्रगति पनि सुस्त छ । चालू आर्थिक वर्षका लागि सरकारले रू. ३ खर्ब ५२ अर्ब ९१ करोड पूँजीगत बजेट विनियोजन गरेको थियो । महालेखाका अनुसार पुस मसान्तसम्ममा रू. ५० अर्ब ८१ करोड ७० लाख मात्र खर्च भएको छ, जुन कुल विनियोजित बजेटको १४.४ प्रतिशत मात्र हो । आगामी वैशाखमा चुनावको घोषणा गरेको सरकार विकास निर्माणभन्दा अन्य काममा अल्झिँदा पूँजीगत खर्च निराशाजक देखिने आकलन गरिएको छ ।