सेक्युरिटी प्रेस स्थापनाका लागि भौतिक पूर्वाधारको काम शुरू हुँदै
काभ्रे, ५ माघ । बनेपामा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क)मा स्थापना गरिने सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि भौतिक पूर्वाधार निर्माण प्रक्रिया थालिएको छ । उक्त पार्कमा सरकारले गतवर्ष सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो, जस अनुसार भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६÷७७ मा रू. एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको छ ।
प्रारम्भिक चरणमा करिब रू. ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सुरक्षण मुद्रण केन्द्र निर्माण सम्पन्न गर्न क्रमागत बजेट विनियोजन गरिने बताइएको छ ।
सूचना प्रविधि पार्कमा स्थापना गरिएको सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ पे्रसको निर्माणसम्बन्धी काम भने हाललाई प्रशासनिक प्रक्रियाका लागि रोकिएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । आयोजना बहुवर्षीय बनाउन अर्थ मन्त्रालयमा बजेटसहितको प्रक्रियामा रहेको र प्रक्रिया सकिएलगत्तै काम शुरू हुने उनको भनाइ छ ।
सरकारले गतवर्ष राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । निर्देशक पौडेलका अनुसार छापाखाना निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमीन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माणको काम भएको छ । प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रू. १० अर्ब जोगिने बताइएको छ ।