कर्जाको साँवा र व्याज बुझाउने अवधी चैतसम्म लम्ब्याउन गभर्नर अधिकारीसँग महासंघको माग
काठमाडौं, ५ माघ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा सहजता ल्याउन माग गरेका छन् ।
आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटका क्रममा महासंघ पदाधिकारीहरुले हाल संचालनमा रहेका अधिकांश व्यवसाय पनि बजारमा माग नबढेर अझै नगदको अभाव झेलिरहेको भन्दै पुष मसान्तसम्म दिइएको कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत्र मसान्तसम्म पु¥याउनु पर्ने, मौद्रिक नीति मार्फत ५० अर्बको छुटै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जा विना कुनै झन्झट उपभोग गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै कतिपय बैंक वित्तिय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न वहानामा कालोसूचिमा राख्ने गरेको र कर्जा सूचना केन्द्रको सूचिले पनि यसलाई पुष्टि गरेको भन्दै अहिलेको अवस्थामा एकतर्फि रुपमा कालोसूचिमा नराख्न बैंकहरुलाई निर्देशन दिन समेत भनेका छन् । अनलाईन भुक्तानी बढदै गइरहेको सन्दभमा यसको सिमा बढाउन र आवश्यक सुरक्षाको व्यवस्था गर्न समेत उनीहरुले गभर्नर अधिकारीसँग माग गरेका छन् ।