कालीगण्डकी प्रसारण करिडोर : २२० केभी खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण शुरू
पर्वत, ६ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशन अन्तर्गत लाइन निर्माणको सबै काम सम्पन्न भएपछि अन्तिम परीक्षणको काम शुरू गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनः परीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिएको राससमा उल्लेख छ । यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाले बताएको छ ।
अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायत काम भइरहेको छ । तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रूख काट्ने तथा अन्य काम पनि भइरहेको उनको भनाइ छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईको भनाइ छ ।
एशियाली विकास बैंकको रू. ३ अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै रू. ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको हो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्झौता भई आव २०७५÷७६ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।