Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा आउँदै

माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा आउँदै

काठमाडौं, ६ माघ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले पुस अन्तिम साता स्वीकृति दिएसँगै सीडीएससीले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन (टी प्लस टू)भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएको हो । सीडीएससीले धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियो । संशोधित विनियमावलीलाई बोर्डले पुस २६ गते नै स्वीकृति दिएको थियो ।
संशोधनपश्चात् धितोपत्र कारोबार राफसाफ तथा फछर््यौटको समय एक दिन घटेको छ ।
संशोधित विनियमावली अनुसार राफसाफ तथा फर्छ्यौट गर्नका लागि सीडीएससीले लगानीकर्तालाई आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौटका लागि ईडीआईएस जारी गर्दा ‘टी प्लस वान्’ अर्थात् कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्न आग्रह गरेको छ । ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले ‘टी प्लस वान्’ भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउनु पर्छ । यस्तै, धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान् अर्थात् कारोबार भएको मितिको भोलिपल्टै बुझाउनु पर्छ ।
यसैगरी संशोधित विनियमावली अनुसार धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पुँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लुएसीसी सम्बन्धी विवरण बिक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरी ‘टी प्लस टू’को बिहान ११ बजे भित्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मा प्रविष्टि गर्नुपर्नेछ । साथै, धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको राफसाफ तथा फर्छ्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरी कुनै बिक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको सरटेज मार्क गरिसक्नु पर्ने पनि संशोधित विनियमावलीले जनाएको छ ।
यस्तै, धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरी सोको नेटिङ्ग पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा ‘टी प्लस टू’को मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैकमा रहेको खातामा जम्मा गरिसक्नु पर्छ । तथा खरिद कारोबार गर्नेसदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा ‘टी प्लस टू’मा राफसाफ तथा फर्छ्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फर्छ्यौट प्रणाली (सीएनएस) मार्फत् हस्तान्तरण गर्नुपर्छ ।
संशोधित विनियमावलीका अनुसार निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो सेयरमार्फत् प्राप्त ई डीआईएसको फाइल जेनेरेट गरेर केन्द्रीय निक्षेप प्रणालीमा (सीडीएएस) अपलोड गरी सोको कारोबार सफल भएको यकिन गरे मेरो सेयरमा सो ई (डीआईएस फाइल प्रोसेस गर्नुपर्छ । साथै, ई डीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पुर्जी तत्काल प्रणालीमा प्रविष्टि गरी सोको जानकारी सम्बन्धित लगानीकर्तालाई प्रदान गर्नु पर्ने पनि कम्पनीले जनाएको छ ।
संशोधित विनियमावली अनुसार बैंकले हरेक दिन राफसाफ तथा फर्छ्यौट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरी सोको जानकारी प्रणालीमा प्रविष्टि गर्नुपर्ने छ ।
परिमार्जित चक्रअनुसार धितोपत्रको राफसाफ तथा फर्छ्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो दायित्व पूरा गरी राफसाफ प्रक्रिया सम्पन्न गर्न सीडीएससीले अनुरोध गरेको छ । साथै, धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पुँजीबजार थप चलायमान हुने र सोबाट लगानीकर्ताहरु थप लाभान्वित हुने कम्पनीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x