राष्ट्रिय वाणिज्य बैंकले ५६ औं वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट गर्याे
काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५६औं वार्षिकोत्सव मनाएको छ । बैंकले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।
त्यस्तै प्रमुख अतिथि अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट नै उद्घाटन गरेका थिए । ।
कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकको वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।
हाल देशभर बैंकले २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर, ९३ वटा शाखारहित बैंकिङ्गमर्फत सेवा दिँदै आएको छ ।